काठमाडौँ । सभामुख डोल प्रसाद अर्याल र नेपालका लागि जापानका राजदूत माएडा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।
सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे । उनले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार हुने अपेक्षा राखे ।
राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै दुई देशबीचको सहयोगलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।
भेटवार्तामा दुवै पक्षले नेपाल–जापान ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् ।
