काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा महालेखापरीक्षक तोयम राया ले उक्त प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गरेका हुन्।
प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले मुलुकमा बढ्दै गएको बेरुजुप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सार्वजनिक निकायहरूले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासनलाई राज्य सञ्चालनको आधारभूत दायित्वका रूपमा लिनुपर्नेमा जोड दिए।
राष्ट्रपतिले बेरुजु फर्स्योट गर्दै वित्तीय अनुशासन कायम गर्न सबै सार्वजनिक निकायका पदाधिकारीहरू अझ जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताए। उनले फजुल खर्च नियन्त्रण गर्न सके मात्र दिगो शान्ति, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सकिने उल्लेख गरे।
त्यसैगरी, प्रतिवेदनले औँल्याएका त्रुटि र सुझावहरूले सम्बन्धित निकायहरूलाई सुधार र जिम्मेवारीतर्फ प्रेरित गर्ने अपेक्षा पनि उनले व्यक्त गरे। आर्थिक पारदर्शिता सुदृढ बनाउन महालेखा परीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रपतिले संस्थागत क्षमता विकास र आन्तरिक सुशासनलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए।
