काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब ६० प्रतिशत पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका १० महिनामा कुल रु ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख खर्च भएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि कुल रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएकोमा हालसम्म ५९.७५ प्रतिशत खर्च भएको देखिएको छ । खर्चमध्ये चालु खर्चतर्फ उच्च प्रगति देखिए पनि पुँजीगत खर्च भने कमजोर रहेको छ ।
चालु खर्चतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजनमध्ये ६८.९८ प्रतिशत अर्थात् रु ८ खर्ब १४ अर्ब ६५ करोड ५५ लाख खर्च भएको छ । पुँजीगततर्फ भने रु ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाखमध्ये २७.९१ प्रतिशत अर्थात् रु १ खर्ब १३ अर्ब ८४ करोड ९२ लाख मात्र खर्च भएको छ ।
वित्तीय व्यवस्थातर्फ हालसम्म ६५.३० प्रतिशत खर्च भएको छ, जहाँ रु ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजनमध्ये रु २ खर्ब ४५ अर्ब १ करोड ५४ लाख खर्च भएको छ ।
आम्दानीतर्फ भने लक्ष्यअनुसार प्रगति हुन सकेको छैन । कुल रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख आम्दानी लक्ष्यमध्ये हालसम्म ६६ प्रतिशत मात्र प्राप्त भएको छ । राजस्व संकलन पनि लक्ष्यको ६६.६९ प्रतिशतमा सीमित रहेको छ । यस्तै वैदेशिक अनुदानतर्फ ३३.२८ प्रतिशत मात्र प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
