काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले नागढुङ्गा–मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा देखिएका ढिलाइ र व्यवधानबारे प्रत्यक्ष जानकारी लिएका छन् ।
अनुगमनका क्रममा मन्त्री लम्सालले पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण बिटुमिन र पेट्रोलियम पदार्थको आयातमा समस्या देखिएको र त्यसकै प्रभावले सडक निर्माण कार्य प्रभावित भएको जानकारी प्राप्त गरेका हुन् । इन्धन अभाव र निर्माण सामग्रीको असहज उपलब्धताले अन्य पूर्वाधार आयोजनामा समेत ढिलाइ भएको निर्माण व्यवसायीहरूले बताएका छन् ।
मन्त्री लम्सालले निर्माण व्यवसायीहरूको गुनासो सम्बोधन गर्दै कामलाई गति दिन आवश्यक समाधानका उपायबारे सरोकारवालासँग छलफल गरेका छन् । उनले आयोजनाको काम रोकिँदा जनस्तरमा पर्ने असरबारे गम्भीर ध्यान दिनुपर्ने बताएका छन् ।
सडक निर्माणलाई समयमै अघि बढाउन आपूर्ति व्यवस्थापन, इन्धन आपूर्ति सहज बनाउने उपाय तथा प्रशासनिक अवरोध हटाउने विषयमा पनि छलफल भएको छ । सरकारका तर्फबाट आवश्यक समन्वय गरी कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
