भक्तपुर, जेठ १ । समस्याग्रस्त घोषित ओरेन्टल को–अपरेटिभ लिमिटेडका ऋणीहरूको सार्वजनिक सूचीमा ऋण चुक्ता गरिसकेका व्यक्तिको नाम समावेश भएपछि उत्पन्न विवादमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले त्रुटि स्वीकार गर्दै नाम हटाएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, बबरमहलले वैशाख ३१ गते सार्वजनिक गरेको ऋणीहरूको तीन पुस्ते विवरणमा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको नाम पनि समावेश भएको थियो । तर उहाँले उक्त ऋण गत वर्ष नै पूर्ण रूपमा चुक्ता गरिसकेको स्पष्ट पार्दै आपत्ति जनाउनुभएको थियो ।
विवाद सार्वजनिक भएपछि समितिको कार्यालयले जेठ १ गते औपचारिक पत्र जारी गर्दै किरण थापा मगरको ऋण दायित्व पहिल्यै चुक्ता भइसकेको स्वीकार गरेको हो । सदस्य–सचिव रेविन ढकालद्वारा हस्ताक्षरित पत्रमा “भूलवश नामावली प्रकाशन भएको” उल्लेख गर्दै सूचीबाट नाम हटाइएको जानकारी दिइएको छ ।
कार्यालयले जारी गरेको पत्रअनुसार सम्बन्धित ऋण दायित्व यसअघि नै चुक्ता भइसकेको र अद्यावधिक विवरण समावेश नगर्दा पुरानो सूची सार्वजनिक भएको स्पष्ट गरिएको छ । यसअघि फुकुवा पत्र जारी भइसकेको अवस्थामा पुनः नाम समावेश हुँदा विवाद उत्पन्न भएको थियो ।
घटनापछि कार्यालयले औपचारिक रूपमा त्रुटि स्वीकार गरेसँगै सूची सच्याइएको छ । यस प्रकरणले सहकारी व्यवस्थापन प्रणालीमा तथ्याङ्क अद्यावधिक र सार्वजनिक सूचनाको शुद्धताबारे प्रश्न उठाएको छ ।
