बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणको अन्तिम दिन चीनका राष्ट्रपति सी जिनपिङसँग निर्णायक चरणको भेटवार्ता गरेका छन् । उक्त भेट बेइजिङस्थित झोङनानहाई परिसरमा भएको हो, जसलाई चीनको शीर्ष नेतृत्वको सुरक्षित सत्ता केन्द्रका रूपमा लिइन्छ ।
भेटपछि ट्रम्पले चीनसँग ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गरेका छन् । उनका अनुसार यो सम्झौताबाट अमेरिका र चीन दुवै देशलाई फाइदा पुग्नेछ । तर उनले सम्झौताका विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन् । अमेरिका–चीनबीच पछिल्ला वर्षहरूमा व्यापार, प्रविधि र सुरक्षा विषयमा तनाव रहँदै आएको भए पनि सम्बन्ध सुधारको प्रयास भइरहेको देखिन्छ ।
भेटका क्रममा दुवै नेताका लागि विशेष लन्चको व्यवस्था गरिएको थियो, जसमा समुद्री खाना सूप, कोड माछा, क्रिस्पी तथा स्टर फ्राइ गरिएको लोब्स्टर र मशरूम भरिएको बीफ फिलेटलगायत परिकार समावेश थिए । ट्रम्पले भ्रमणको अन्तिम समय सी जिनपिङको निजी निवासमा बिताएका थिए, जुन निषेधित सहर नजिक रहेको अत्यन्त सुरक्षित क्षेत्र मानिन्छ ।
यसैबीच ट्रम्पले इरानबारे आफू र सी जिनपिङको धारणा धेरै हदसम्म समान रहेको बताएका छन् । दुवै देश इरानमा आणविक हतियार नहोस् भन्ने पक्षमा रहेको र समुद्री मार्गहरू खुला रहनुपर्नेमा सहमत भएको उनको भनाइ छ ।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै सी जिनपिङले छोटो अवधिमा अमेरिकाले हासिल गरेका उपलब्धिको प्रशंसा गरेको दाबी गरेका छन् । उनले अमेरिका–चीन सम्बन्ध अझ मजबुत हुने आशा समेत व्यक्त गरेका छन् ।
