कालीकोट, जेठ १ गते । भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत १२३ किलोमिटर सडक कालोपत्र हुने भएको छ । कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडक खण्ड कालोपत्र तथा स्तरोन्नति गर्न बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइएको आयोजनाले जनाएको छ ।
सडकको ट्र्याक निर्माण सम्पन्न भएपछि कालोपत्रका लागि आवश्यक प्रक्रिया तीव्र बनाइएको हो । खुलालुदेखि कोटसम्म १३ किलोमिटर, भुक्काखोलादेखि बाजुराको पिलुचौरसम्म १५ किलोमिटर तथा हुम्लाको तुम्चादेखि सल्लीसल्लासम्म १३ किलोमिटर सडक कालोपत्र गर्न करिब ३ अर्ब १५ करोड रुपैयाँ बराबरको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको थियो । आयोजना प्रमुख बिसुनदास लामाका अनुसार उक्त खण्डको स्रोत सुनिश्चित भइसकेको छ र ४१ किलोमिटर सडकको ठेक्का छिट्टै व्यवस्थापन गरिनेछ ।
करिडोर प्रवेशद्वार खुलालु–सल्ली खण्डको ३५ किलोमिटर ग्राभेल सडक स्तरोन्नति भइसकेको छ । पालाताको घाटाचौरदेखि भुक्काखोलासम्म १४ किलोमिटर क्षेत्रमा नेपाली सेनाले कडा चट्टान फोड्ने काम सम्पन्न गरेको छ । सो क्षेत्रको प्राविधिक प्रतिवेदन प्राप्त भएपछि थप कालोपत्र तथा स्तरोन्नतिको ठेक्का प्रक्रिया अघि बढाइने आयोजनाले जनाएको छ ।
यस्तै, पिलुचौरदेखि कुबाडीसम्म २३ किलोमिटर र कुबाडीदेखि तुम्चासम्म २७ किलोमिटर सडक खण्डमा कालोपत्रका लागि ठेक्का व्यवस्थापन भई काम सुरु भइसकेको छ । हालसम्म करिब १७ प्रतिशत भौतिक प्रगति भएको तथा चालु आर्थिक वर्षमा करिब २४ करोड रुपैयाँ खर्च भइसकेको आयोजना प्रमुख लामाले जानकारी दिनुभयो ।
करिडोरअन्तर्गत निर्माण गरिनुपर्ने १५ पुलमध्ये ९ वटा निर्माणाधीन अवस्थामा छन् भने बाँकी ६ पुलका लागि बजेट सुनिश्चित गरिएको छ । कालीकोट–बाजुरा सीमामा पर्ने भुक्काखोला, सेराखोला, बाँधुखोला, तुसारेखोला, पैमाखोला र मकाखोलामा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म पिलुचौर–कुबाडी सडक खण्डको केही भागमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
