राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङलाई प्रधानमन्त्रीको राजीनामा माग नगर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले वर्तमान प्रधानमन्त्रीको राजीनामा माग गर्नुपर्ने कुनै ठोस आधार नरहेको बताएका हुन्। उनले विगत ३५ वर्षदेखि देशमा भ्रष्टाचार र लुटतन्त्र चलाउने शक्तिहरूविरुद्ध जनताले अहिलेको नेतृत्वलाई मत दिएको उल्लेख गर्दै जनादेशको सम्मान गर्नुपर्ने धारणा राखेका छन्।
शाहीले देशलाई अगाडि बढाउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री संसद्प्रति उत्तरदायी र प्रजातान्त्रिक बन्नुपर्ने आफूहरूको मुख्य माग रहेको बताएका छन्। उनले संसद् जनताको आवाज बोल्ने सर्वोच्च लोकतान्त्रिक मञ्च भएकाले त्यसको सम्मान गर्न प्रधानमन्त्रीले विशेष ध्यान दिनुपर्ने बताए।
उनका अनुसार अहिलेको आवश्यकता सरकार परिवर्तनभन्दा पनि सुशासन, उत्तरदायित्व र लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउनु हो। शाहीले जनताले पुराना राजनीतिक शक्तिको भ्रष्टाचार र बेथितिविरुद्ध दिएको मतलाई सम्मान गर्दै जिम्मेवार राजनीति गर्न सबै पक्षलाई आग्रह गरेका छन्।
