काठमाडौँ– विश्व बैंकले नेपालको शैक्षिक विकासमा आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले शिक्षा क्षेत्र सुधारमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
भेटका क्रममा शिक्षा क्षेत्रको पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तार तथा दीर्घकालीन सुधारका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। विश्व बैंकले विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधारमा थप लगानी र साझेदारी विस्तार गर्ने इच्छा देखाएको छ।
मन्त्रालयका अनुसार गुणस्तरीय शिक्षामा पहुँच बढाउने र शिक्षा प्रणालीलाई आधुनिक बनाउन दुवै पक्षबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।
मन्त्री पोखरेलले सरकारका प्राथमिकताबारे जानकारी दिँदै शैक्षिक पूर्वाधार विकास, आधारभूत सिकाइ (फाउन्डेसन लर्निङ) सुदृढीकरण तथा शिक्षामा डिजिटाइजेसन र प्रविधि विस्तारलाई प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताए।
