काठमाडौं– हर्मुज स्ट्रेट नजिक फेरि एक भारतीय जहाजमाथि आक्रमण भएको छ। गुजरातको ‘हाजी अली’ नामक जहाजमा मे १३ को बिहान मिसाइल वा ड्रोनजस्तो हतियार प्रहार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
ओमानको समुद्री क्षेत्रमा यात्रा गरिरहेको अवस्थामा उक्त जहाजमा विस्फोटकजस्तो वस्तु ठोकिएपछि आगलागी भएको बताइएको छ। घटनापछि जहाजमा ठूलो क्षति पुगेको भए पनि चालक दलका सबै १४ सदस्यलाई ओमान तटरक्षकले सुरक्षित रूपमा उद्धार गरेको छ।
जहाजका मालिक सुल्तान अहमद अन्सारका अनुसार ‘एमएसभी हाजी अली’ बर्बेरा बन्दरगाहबाट शारजाहतर्फ जाँदै थियो। बिहान करिब ३:३० बजेतिर ओमान तट नजिकै जहाजमा विस्फोट भएपछि आगलागी भएको र अवस्था बिग्रिएपछि चालक दलले लाइफबोट प्रयोग गरी जहाज छाडेको उनले बताए।
चालक दलका सदस्यहरूले जहाजमा विस्फोटकजस्तो वस्तु ठोकिएपछि आगो लागेको बताएका छन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।
