काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका–चीन सम्बन्धलाई ‘रचनात्मक, रणनीतिक र स्थिर’ ढंगले अघि बढाउनुपर्ने बताएका छन्।
चिनियाँ विदेश मन्त्रालयका अनुसार बेइजिङमा भएको भेटवार्तामा सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी तीन वर्ष र त्यसपछि पनि द्विपक्षीय सम्बन्धलाई यही आधारमा अघि बढाउने विषयमा सहमति भएको उल्लेख गरिएको छ।
सीले चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको मूल आधार ‘आपसी लाभ र दुवै पक्षको जित’ भएको बताउँदै सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। उनले अमेरिकी व्यवसायका लागि चीनको बजार अझ खुला बनाइने संकेत पनि गरेका छन्।
भेटवार्तामा पश्चिम एसिया, युक्रेन संकट र कोरियाली प्रायद्वीपको अवस्थाबारे पनि छलफल भएको जनाइएको छ। तर छलफलको मुख्य केन्द्रबिन्दु ताइवान मुद्दा रहेको चिनियाँ पक्षले जनाएको छ।
सीले ताइवानलाई चीन–अमेरिका सम्बन्धको सबैभन्दा संवेदनशील विषय भन्दै यसको व्यवस्थापन सावधानीपूर्वक गर्नुपर्ने बताएका छन्। उनले चेतावनी दिँदै भनेका छन्, “यदि ताइवान मुद्दालाई सही ढंगले सम्हालियो भने सम्बन्ध स्थिर रहन्छ, अन्यथा दुई देशबीच द्वन्द्वको जोखिम बढ्न सक्छ।”
भेटपछि सीले ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गर्ने कार्यक्रम रहेको र शुक्रबार थप द्विपक्षीय वार्ता हुने जनाइएको छ।
