काठमाडौं– नेकपा (एमाले)ले शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ। बैठकले ११ औँ महाधिवेशनबाट निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने तयारी गरेको छ।
पार्टी महासचिव शंकर पोखरेलका अनुसार बैठकले विभिन्न विभागका प्रमुख, प्रदेश, जिल्ला, प्रवास र जनसंगठनका इञ्चार्जहरू पनि तोक्नेछ।
महाधिवेशनपछि राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टी केन्द्रित हुनुपरेकाले कार्यविभाजन प्रक्रिया थाँती रहँदै आएको बताइएको छ।
पोखरेलले निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओलीको परिवारमा परेको शोक, केही समयको अस्वस्थता तथा आन्तरिक व्यस्तताका कारण पनि ढिलाइ भएको स्पष्ट पारे। अब केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूको राय–परामर्शका आधारमा कार्यविभाजनको प्रस्ताव अघि बढाइने उनले जानकारी दिए।
