विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्न जेठ ६ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीका अनुसार प्रदेशसभाको नवौं अधिवेशन जेठ ६ गते बुधबार अपराह्न ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा सुरु हुनेछ । उनले मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशनसँगै विभिन्न प्रशासनिक र नीतिगत निर्णयहरू पनि गरेको जानकारी दिए ।
बैठकले कोशी प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा धरान उपमहानगरपालिकाकी मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेश योजना आयोगलाई पूर्णता दिने उद्देश्यले सरकारले उनलाई सदस्यमा मनोनयन गरेको मन्त्री पराजुलीले बताए ।
त्यसैगरी, सरकारले केही महत्वपूर्ण नियमावली तथा निर्देशिकाहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि गरेको छ । ‘कोशी प्रदेश तथ्यांक नियमावली २०८२’ लाई मन्त्रिपरिषद्को पूर्वाधार समितिमा पठाइएको छ ।
यस्तै, ‘कोशी प्रदेश आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन २०८३’ र ‘कोशी योजना आयोग गठन सञ्चालन पहिलो संशोधन आदेश २०८३’ लाई थप अध्ययन, छलफल र परिमार्जनका लागि कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाइएको मन्त्री पराजुलीले जानकारी दिए ।
बैठकले संघीय सरकारबाट सरुवा भई कोशी प्रदेशमा आएका सह–सचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको रूपमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ ।
