काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा प्रयोग भएका असंसदीय तथा आपत्तिजनक अभिव्यक्तिहरू संसद्को आधिकारिक अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १२१ को खण्ड (घ) स्मरण गराउँदै सांसदहरूलाई आफ्नो अभिव्यक्तिप्रति संवेदनशील हुन आग्रह गरे। उनले संसद् जस्तो गरिमामय संस्थामा बोलिने भाषा शिष्ट, मर्यादित र संसदीय अभ्यासअनुकूल हुनुपर्ने बताए।
सभामुख अर्यालले बैठकमा अशिष्ट, अपमानजनक, अश्लील वा सार्वजनिक नैतिकता विपरीतका शब्द प्रयोग गर्न नपाइने कानुनी व्यवस्था रहेको स्पष्ट पार्दै कुनै व्यक्ति, समुदाय, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने अभिव्यक्ति अस्वीकार्य हुने उल्लेख गरे।
यसै सन्दर्भमा उनले २०८० वैशाख २९ गतेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले प्रयोग गरेका केही शब्दहरू नियमावलीविपरीत रहेको निष्कर्ष सुनाए। पराजुलीले सम्बोधनका क्रममा प्रयोग गरेका “भरौटेहरू” तथा “यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी” भन्ने अभिव्यक्तिलाई संसद्को गरिमा प्रतिकूल ठहर गर्दै ती शब्दहरू संसद्को अभिलेखबाट हटाउन निर्देशन दिइएको हो।
सभामुख अर्यालले आगामी दिनमा सांसदहरूले आफ्नो धारणा राख्दा संसदीय मर्यादा, भाषिक संयमता र नियमावलीको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन्।
