काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति कडा आपत्ति जनाउँदै प्रतिनिधिसभालाई बेवास्ता गर्नु संसदीय अभ्यासमाथिको उदासीनता भएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशको कार्यकारी प्रमुख स्वयं सदनमा उपस्थित नहुनु दुःखद् मात्र नभई लोकतान्त्रिक उत्तरदायित्वबाट पन्छिने प्रवृत्ति भएको टिप्पणी गरे । सत्ता पक्षका सांसदहरूले समेत त्यसलाई सामान्य देखाउन खोजेको आरोप लगाउँदै उनले दुई तिहाइको बलमा संसदलाई कमजोर बनाउने प्रयास भइरहेको अनुभूति जनाए ।
राईले प्रश्नको सामना गर्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ संकेत नभएको उल्लेख गर्दै संसदलाई ‘चिया चौतारी’ जस्तो व्यवहार गरिएको टिप्पणी गरे । उनले सदनलाई गुरुकुल र विश्वविद्यालयसँग तुलना गर्दै प्रधानमन्त्री स्वयंले त्यसको गरिमा घटाउने काम गरेको आरोप लगाए ।
उनले भने, “सदन मन लागे आउने र मन नलागे नआउने ठाउँ होइन । यो लोकतन्त्रको सबैभन्दा गरिमामय संस्था हो । तर अहिले स्वयं प्रधानमन्त्रीले नै संसदलाई बेवास्ता गर्ने अवस्था बनेको छ ।”
प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएसम्म आफ्नो विरोध जारी रहने चेतावनी पनि उनले दिएका छन् ।
