नुवाकोट । म्यागङ गाउँपालिका–४ किम्ताङमा दाजुभाइको हत्या गरेर खोलामा लुकाएको अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका ३६ वर्षीय भाइ सूर्यमान तामाङको हत्या भएको अवस्थामा शव बुधबार भेटिएको हो।
प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार मंगलबार राति एक व्यक्तिले प्रहरीलाई फोनमार्फत आफूले हत्या गरेको दाबी गर्दै घटनास्थलसम्बन्धी जानकारी दिएपछि खोजतलास गर्दा खोलामा ढुंगाले थिचिएको अवस्थामा शव बरामद गरिएको हो।
प्रहरीका अनुसार आर्थिक लेनदेनका कारण विवाद बढेपछि हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। सूचना दिने व्यक्तिले गोली प्रहार गरेको दाबी गरे पनि घटनास्थलबाट एक थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ।
हत्या आरोपित व्यक्ति फरार रहेका छन् र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। पक्राउ परेपछि घटनाको थप विवरण खुल्ने अपेक्षा गरिएको छ।
परिवारका अनुसार दाजुभाइ मंगलबार बिहान कुलो निर्माणका लागि भन्दै घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए।
घटनास्थल सडकबाट करिब पाँच घण्टा पैदल दूरीमा पर्ने दुर्गम क्षेत्रमा रहेको जनाइएको छ।
