काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रविधिको विकास र सञ्चार क्षेत्रको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले फाइभजी सेवा कार्यान्वयन, सञ्चार क्षेत्रको सुधार र सुशासन प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।
मन्त्री तिमिल्सिनाले फाइभजी प्रविधि भित्र्याउन सरकार दृढ रहेको उल्लेख गर्दै रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले ३ हजार ३ सयदेखि ३ हजार ७ सय मेगाहर्ज ब्यान्ड निर्धारण गरिसकेको जानकारी दिए । उनले यसको आधार मूल्य प्रतिमेगाहर्ज ४० लाख रुपैयाँ तय गरिएको पनि बताए ।
बजारमा प्रतिस्पर्धा बढाउन तेस्रो मोबाइल अपरेटर ल्याउने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले अध्ययन गरिरहेको उनले जानकारी दिए । साथै, पत्रकारिताको गुणस्तर र जिम्मेवार भूमिकालाई लोकतन्त्र सुदृढीकरणसँग जोड्दै लोककल्याणकारी विज्ञापनमा देखिएका अनियमितताको छानबिन गरिने बताए ।
मन्त्री तिमिल्सिनाले मन्त्रालय अन्तर्गतका निकायहरूमा देखिएको ‘सिस्टेमिक करप्सन’ र अनियमितताप्रति सरकार गम्भीर रहेको उल्लेख गरे । स्मार्ट टेलिकम लगायतका विवादित विषयमा छानबिन प्रक्रिया अघि बढिसकेको र रिक्त पदहरूमा छिट्टै खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिने जानकारी पनि दिए ।
उनले नेपाल टेलिकमको बिलिङ प्रणाली सुधार र ग्रामीण दूरसञ्चार विकास कोषको प्रभावकारी उपयोगका लागि सरकार सक्रिय रहेको बताए । फोरजी सेवाको अधिकतम उपयोग गर्दै दोस्रो चरणमा फाइभजी विस्तार गर्ने तयारी भइरहेको पनि उनले उल्लेख गरे ।
मन्त्री तिमिल्सिनाले सञ्चारकर्मीहरूलाई मन्त्रालयसँग सम्बन्धित अनियमितता वा समस्या सिधै जानकारी गराउन आग्रह गर्दै नियमित संवादलाई नीति निर्माणमा समेटिने विश्वास व्यक्त गरेका छन् ।
