काठमाडौं । पर्वतारोहण सञ्चालक संघ नेपाल अन्तर्गत खटिएको १३ सदस्यीय टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथामा बाटो खोल्ने तथा डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ । संघले बुधबार जारी गरेको विज्ञप्तिअनुसार मिङमा दोर्जी शेर्पाको नेतृत्वमा रहेको टोलीले आज बिहान करिब १०ः२५ बजे सगरमाथाको चुचुरोमा पुगेर नेपाल सरकार, पर्यटन विभाग र संघको झण्डा फहराएको हो ।
संघका अनुसार उक्त कार्य सम्पन्न भएसँगै २०२६ सालको वसन्त ऋतु पर्वतारोहण सिजनका लागि सगरमाथाको आधिकारिक आरोहण मार्ग तयार भएको छ । यससँगै यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियान औपचारिक रूपमा सुरु भएको जनाइएको छ ।
संघले प्रतिकूल मौसम, उच्च हिमाली जोखिम तथा चुनौतीपूर्ण परिस्थितिका बीच नेपाली शेर्पा समुदायले पुनः आफ्नो साहस, क्षमता र समर्पण प्रदर्शन गरेको जनाएको छ । सगरमाथा आरोहण मार्ग निर्माणलाई हिमाली पर्यटनका लागि अत्यन्त महत्वपूर्ण कार्यका रूपमा लिइन्छ ।
बाटो खोल्ने तथा डोरी टाँग्ने टोलीमा मिङमा दोर्जी शेर्पा, पासाङ तेन्जिङ शेर्पा, पाम दोर्जी शेर्पा, पासाङ तासी शेर्पा, लोप्साङ भुटिया, मिङ नुर्बु शेर्पा, छोम्बा तेन्जी शेर्पा, फुर्टेन्जिङ शेर्पा, गुरु भोते, मिङमा तेन्जे शेर्पा, मिङ टेम्बा शेर्पा, डेन्डी शेर्पा र पासाङ नुर्बु शेर्पा सहभागी रहेका थिए ।
पर्वतारोहण सञ्चालक संघ नेपालका महासचिव ऋषि भण्डारीले उक्त ऐतिहासिक कार्य सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण आरोही तथा शेर्पा टोलीप्रति सम्मान, कृतज्ञता र बधाई व्यक्त गरेका छन् ।
