काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा उपस्थित गराउन सभामुखसँग रुलिङ गर्न आग्रह गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री सदनमा अनुपस्थित रहेको भन्दै आपत्ति जनाएका हुन् ।
राईले प्रधानमन्त्री आफैले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन संसद्मा उपस्थित हुनुपर्ने बताएका छन् । उनले हिजो पनि प्रधानमन्त्रीको उपस्थिति खोजिएको भए पनि आजसमेत अवस्था उस्तै रहेको उल्लेख गरे ।
उनले संसद्को गरिमा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई रुलिङ गरेर सदनमा बोलाउन आग्रह गरे । सभामुखले सदनको सम्मान र मर्यादा कायम राख्न विशेष भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेस सचेतक राईले महाभियोगबाहेक अन्य अवस्थामा संसद्मा न्यायाधीश र न्यायालयबारे बहस गर्न नपाइने संवैधानिक व्यवस्था रहेको पनि स्मरण गराए । उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले मंगलबार संसद्को रोष्ट्रम प्रयोग गरेर न्यायाधीशको आलोचना गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
राईले सभामुखलाई असंवैधानिक गतिविधि रोक्न ध्यानाकर्षण गराउँदै संसद्को मर्यादा र संवैधानिक सीमाको संरक्षण गर्न आग्रह गरेका छन् ।
