काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापनाको दिनको अवसर पारेर पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । बुधबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।
पूर्वसञ्चारकर्मी रवि लामिछानेले २०७९ साल असार ७ गते रास्वपाको घोषणा गरेका थिए । स्थापना कालमा लामिछानेकै नेतृत्वमा २१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको थियो ।
पार्टी स्थापना भएको पाँच महिनामै रास्वपा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएको थियो । उक्त निर्वाचनमा पार्टीले ११ लाख ३० हजारभन्दा बढी लोकप्रिय मतसहित २१ सिट जित्दै राष्ट्रिय राजनीतिमा उल्लेखनीय उपस्थिति जनाएको थियो ।
रास्वपाले छोटो अवधिमै आफ्नो संगठन विस्तार गर्दै राष्ट्रिय राजनीतिमा प्रभाव बढाएको दाबी गर्दै आएको छ । पार्टीले महाधिवेशनमार्फत आगामी राजनीतिक कार्यदिशा, संगठन विस्तार र नीति निर्माणका विषयमा छलफल गर्ने जनाएको छ ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले ५१ लाखभन्दा बढी लोकप्रिय मत प्राप्त गर्दै १८२ सिट जितेको दाबी गरिएको छ । पार्टीले यसलाई जनताको बढ्दो समर्थनको संकेतका रूपमा व्याख्या गरेको छ ।
महाधिवेशनलाई पार्टीको भावी रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । चितवनमा हुने महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी हुने र नयाँ नेतृत्व चयनसमेत हुन सक्ने बताइएको छ ।
