काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले प्रतिष्ठित निर्माण व्यवसायीहरूलाई कानुनविपरीत धरपकड गरिएको भन्दै आपत्ति जनाएको छ । महासंघका महासचिव शिवहरि घिमिरेले विज्ञप्ति जारी गर्दै व्यवसायीहरूमाथि प्रहरी प्रशासनबाट भइरहेको धरपकड र थुनछेकप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
महासंघले दुईतिहाइको सरकार गठनपछि राजनीतिक स्थिरता कायम भई पूर्वाधार विकासले गति लिने तथा अर्थतन्त्र चलायमान बन्ने अपेक्षा गरिएको समयमा निर्माण व्यवसायीहरूमाथि निरन्तर भइरहेको धरपकडले निजी क्षेत्र त्रसित बनेको उल्लेख गरेको छ । विज्ञप्तिमा पछिल्लो समय इन्धन तथा निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण व्यवसाय सञ्चालन गर्न कठिन भएको जनाइएको छ ।
महासंघका अनुसार राज्यले समयमै मूल्य समायोजन नगर्दा निर्माण कार्य प्रभावित बनेका छन् । व्यवसायीहरू आर्थिक तथा मानसिक दबाबमा रहेका बेला राहत दिनुको सट्टा सार्वजनिक खरिद ऐन, नियम तथा खरिद सम्झौताविपरीत धरपकड गरिएको भन्दै महासंघले त्यसलाई निन्दनीय भनेको छ ।
विज्ञप्तिमा अनुसन्धानपछि दोषी प्रमाणित भए जो कोहीलाई पनि कानुनअनुसार कारबाही हुनुपर्ने महासंघको धारणा रहेको उल्लेख गरिएको छ । साथै नेपालको संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म कसुरदार मान्न नहुने व्यवस्थालाई सम्मान गर्न आग्रह गरिएको छ ।
महासंघले निर्माण उद्योग तथा निजी क्षेत्रका उद्यमीहरूलाई त्रसित बनाइए अर्थतन्त्र, रोजगारी, राजस्व संकलन तथा पूर्वाधार विकासमा गम्भीर असर पर्ने चेतावनी दिएको छ । यस्तो अवस्थाले लगानीको वातावरण समेत कमजोर बन्ने महासंघको भनाइ छ ।
महासंघले बिना कुनै ठोस आधार र प्रमाण निर्माण व्यवसायीहरूमाथि पुनः धरपकड तथा थुनछेक गरिए कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

