काठमाडौं । निर्वाचन आयोगले २०८४ सालमा हुने प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले मंगलबार राजनीतिक दलहरूसँग गरेको छलफलमा दुवै निर्वाचन एउटै मितिमा गर्ने विषयमा प्रारम्भिक प्रस्ताव प्रस्तुत गरेको हो ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार २०८४ वैशाख ३० गते स्थानीय तह र सोही वर्ष मंसिर ४ गते प्रदेशसभा सदस्यको पदावधि समाप्त हुने भएकाले दुवै निर्वाचन एकैपटक गर्दा राज्यको करिब ४ अर्ब रुपैयाँभन्दा बढी खर्च बचत हुने अनुमान गरिएको छ ।
आयोगले निर्वाचनलाई मितव्ययी, प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यसहित राजनीतिक दलहरूसँग परामर्श गरेको हो । आयोगको कार्यालयमा भएको छलफलमा निर्वाचन सुधारका विभिन्न पक्षहरूबारे समेत विचार–विमर्श गरिएको भण्डारीले बताए ।
छलफलका क्रममा गत निर्वाचनपछि जनप्रतिनिधिहरूले राजीनामा दिएर प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दा रिक्त भएका ७४ स्थानीय तह तथा प्रदेशसभाका पदहरूमा उपनिर्वाचन गर्ने विषयमा पनि परामर्श गरिएको आयोगले जनाएको छ ।
