काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरेको कार्यशैलीलाई “आतङ्कवादी शैलीजस्तै” भएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अव्यवस्थित बस्ती हटाउने उद्देश्य उचित भए पनि त्यसका लागि अपनाइएको तरिका अमानवीय भएको आरोप लगाए । उनले सरकारी जग्गा अतिक्रमण गर्नेहरूलाई हटाउनुपर्ने भए पनि त्यस क्रममा नागरिकको मानवीय संवेदनामा चोट पुग्ने काम भएको बताए ।
शाहीले सरकारलाई लक्षित गर्दै प्रश्न गरे, “सरकार सरकार हो कि आतङ्कवादी ?” भन्दै शक्ति र सत्ताको आडमा गरिएको डोजर कारबाही स्वीकार्य नहुने टिप्पणी गरे ।
उनले विकासका नाममा मानवीय संवेदनामाथि डोजर चलाउनु गलत भएको उल्लेख गर्दै, यदि कसैलाई जोगाउने नीति छैन भने मन्त्रीका घरहरूमा किन डोजर नचलाइयो भन्ने प्रश्न समेत उठाए ।
सुकुम्वासी हटाउने अभियानका क्रममा दुई नागरिकको मृत्यु भएको विषय उठाउँदै उनले सरकारको जिम्मेवारी नागरिकको जीवन रक्षा गर्नु पनि भएको स्पष्ट पारे ।
