काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड ले “पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन्” भन्ने भाष्य गलत भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
प्रचण्डले आफूलाई समेत सबैलाई एउटै ढाँचामा घिसारेर प्रस्तुत गर्ने प्रवृत्ति गलत भएको बताए । उनका अनुसार राजनीतिक मूल्यांकन “पुरानो र नयाँ” भन्ने आधारमा होइन, “सही र गलत” को आधारमा हुनुपर्छ ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी सँग भएको सहकार्यको स्मरण गर्दै सुशासन, सेवा प्रवाह सुधार र भ्रष्टाचारविरुद्धका अभियानमा साझा काम भएको उल्लेख गरे । उनले ललिता निवास जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणजस्ता विषयमा अनुसन्धान अघि बढाइएको पनि बताए ।
प्रचण्डले आफू नेतृत्वको समयलाई “दुईतिहाइको कुसासनको प्रतिरोध” का रूपमा व्याख्या गर्दै सानो प्रतिपक्षी दल भए पनि सरकारका बेथिति र विकृतिविरुद्ध सक्रिय भूमिका खेलेको दाबी गरे ।
उनले पुराना र नयाँ भन्ने भाष्यले समाज र राजनीतिमा विभाजन मात्र बढाउने भन्दै त्यसको सट्टा सही नीति र गलत अभ्यासबीचको बहसले मात्र राजनीतिक रूपान्तरण सम्भव हुने धारणा राखे ।
