काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति ले बैठक व्यवस्थापन तथा कार्य सहजीकरणका लागि संसदीय उपसमिति गठन गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त उपसमिति गठन गर्ने निर्णय गरेको हो । समिति सभापति रहबर अन्सारी का अनुसार उपसमिति नितान्त बैठक व्यवस्थापन र कार्य सहजीकरणका लागि बनाइएको हो ।
उपसमितिमा विभिन्न दलका प्रतिनिधिहरू समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बाट प्रभा कार्की, हरिमोहन भण्डारी र प्रकाश पाठक सदस्य रहेका छन् । त्यसैगरी नेपाली कांग्रेस बाट टेक बहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट कृपाराम राना तथा नेपाल कम्युनिष्ट पार्टीबाट निराशा चौधरी सदस्य रहेका छन् ।
सभापति अन्सारीले उपसमितिले आगामी बैठकहरूको व्यवस्थापन, कार्यसूची समन्वय तथा समितिको कामलाई अझ प्रभावकारी बनाउन सहयोग गर्ने बताएका छन् । उनले उपसमिति पूर्ण रूपमा कार्य सहजीकरणमा केन्द्रित रहने स्पष्ट पारे ।
