काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेता सुदन किरातीलाई कोशी प्रदेशको आगामी मुख्यमन्त्रीका रूपमा अघि सार्ने विषयमा सार्वजनिक राय मागेका छन्।
दुई दिनअघि मात्रै औपचारिक रूपमा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका किरातीको नाम प्रस्ताव गर्दै साम्पाङले सामाजिक सञ्जालमार्फत जनमत लिन थालेका हुन्। उनले “कोशी प्रदेशको मुख्यमन्त्रीका रूपमा सुदन किराती कत्तिको उपयुक्त हुन्छन् ?” भन्ने आशयमा नागरिकको प्रतिक्रिया मागेका छन्।
पूर्वमन्त्रीसमेत रहेका किरातीको पार्टी प्रवेशपछि कोशी प्रदेशको राजनीतिमा नयाँ समीकरण बन्न सक्ने चर्चा सुरु भएको छ। साम्पाङले वैकल्पिक राजनीतिक शक्ति निर्माण र नयाँ नेतृत्व अघि सार्ने उद्देश्यसहित किरातीलाई अगाडि ल्याउन खोजेको विश्लेषण गरिएको छ।
सामाजिक सञ्जालमा साम्पाङको प्रस्तावप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले किरातीको अनुभव र राजनीतिक पृष्ठभूमिलाई सकारात्मक रूपमा लिएका छन् भने केहीले पार्टीभित्रको संरचना र प्रदेश राजनीतिक समीकरणलाई आधार बनाएर टिप्पणी गरिरहेका छन्।
