काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ अन्तर्गत सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरूले एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइटमार्फत नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ। यस सम्बन्धमा कार्यालयले आइतबार सूचना जारी गर्दै उपलब्ध माध्यमहरूको सूची पनि सार्वजनिक गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले कुनै प्राविधिक समस्या नआएमा बैशाख महिनाभित्रै नतिजा सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार अबको चार दिनभित्र नतिजा प्रकाशन गर्ने तयारी भइरहेको छ।
यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा कुल पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ परीक्षार्थी रहेका छन्।
परीक्षा बोर्डका अनुसार सहभागीमध्ये दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र तथा अन्य सात जना परीक्षार्थी रहेका छन्।
