काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा खोजीका लागि ‘रेड नोटिस’ जारी गर्ने प्रक्रिया अघि बढाइएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले आवश्यक थप कागजात माग गरेपछि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले माग गरिएको विवरण पठाइसकेको छ। केही दिनअघि इन्टरपोलबाट थप प्रमाण र कागजात माग गर्दै इमेल प्राप्त भएपछि सोही अनुसार फाइल अपडेट गरेर पठाइएको बताइएको छ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा २४ चैतमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई स्वदेश फर्काउने कानुनी तथा कूटनीतिक प्रक्रिया अघि बढाइएको जनाइएको छ।
एनसीबीले इन्टरपोलमा रेड नोटिसका लागि प्रारम्भिक पत्राचार गरिसकेको भए पनि आवश्यक कागजात अपुग भएको भन्दै तत्काल निर्णय भएको थिएन। हाल थप विवरण पठाइएपछि प्रक्रिया अघि बढेको प्रहरी स्रोतको दाबी छ।
प्राप्त जानकारी अनुसार पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती उपचारका लागि विदेशमा रहेका थिए। उनीहरू १४ फागुनमा सिंगापुर गएका र पछि ७ चैतमा हङकङ पुगेको बताइएको छ। स्रोतका अनुसार उनीहरू हाल पनि हङकङमै रहेको अनुमान गरिएको छ।
यसअघि पनि उपचारका लागि विदेश गएका बेला फर्किएका उनीहरू यस पटक भने लामो समयदेखि स्वदेश नफर्किएको उल्लेख छ।
यदि इन्टरपोलले रेड नोटिस जारी गरेमा सदस्य राष्ट्रका सुरक्षा निकायले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन्। त्यसपछि सम्बन्धित देशको कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल ल्याउन सकिने व्यवस्था रहनेछ।
