काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न स्थानीय तहमा डेङ्गु सङ्क्रमण बढ्दै गएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल १३ स्थानीय तहमा सङ्क्रमण देखिन थालेपछि निगरानी र नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको हो ।
महाशाखाका प्रमुख डा. अनुज भट्टचनका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाका भद्रपुर, बिर्तामोड, मेचीनगर र कचनकवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुर महानगरपालिकामा डेङ्गुका बिरामी बढ्दै गएका छन् ।
महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार गत पुस महिनादेखि हालसम्म देशभर करिब छ सय जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । हालको वर्षा अवस्थाले तत्काल ठूलो जोखिम नबढाए पनि केही क्षेत्रमा बिरामी बढेकाले सतर्कता आवश्यक रहेको उनले बताए ।
डेङ्गु रोग एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेको टोकाइबाट सर्ने भएकाले घर तथा कार्यालय वरपर पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्ने र ज्वरो आएमा समयमै स्वास्थ्य परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयले सम्बन्धित स्थानीय तहहरूलाई निगरानी बढाउन, लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गर्न र जनचेतना अभिवृद्धि गर्न समेत निर्देशन दिएको छ ।
