विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको मनसुनी प्रणालीमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ । पछिल्ला वर्षहरूमा मनसुन अवधिमा अपेक्षाकृत कम वर्षा हुने तथा मनसुन लम्बिँदै दसैँ–तिहारतिर बेमौसमी भारी वर्षा हुने प्रवृत्ति बढेको मौसमविद्हरूले बताएका छन् । यसले कृषि उत्पादन, जलस्रोत र जनजीवनमा प्रत्यक्ष असर पार्ने चिन्ता बढाएको छ ।
हाल देशका विभिन्न क्षेत्रमा मनसुनपूर्वको लगातार वर्षा भइरहेको भए पनि दीर्घकालीन प्रवृत्ति भने सुख्खा मनसुनतर्फ उन्मुख देखिएको छ । विगतमा असारभर निरन्तर वर्षा र साउन–भदौमा हल्का झरी रहने अवस्था सामान्य मानिन्थ्यो । तर पछिल्ला केही वर्षयता जेठ, असार, साउन र भदौमा अपेक्षाकृत कम वर्षा हुन थालेको छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन जेठ १८ गतेदेखि असोज १४ गतेसम्म रहने प्रक्षेपण गर्दै देशका अधिकांश भू–भागमा सरदरभन्दा कम वर्षा हुने जनाएको छ । विभागका अनुसार अधिकतम तथा न्यूनतम तापक्रम पनि औसतभन्दा बढी रहने सम्भावना छ । विशेषगरी कर्णाली, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही क्षेत्रमा खडेरीको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ ।
मौसमविद् विभूति पोखरेलका अनुसार सामान्यतया मनसुन सक्रिय बनाउन सहयोग गर्ने लानिना प्रणाली कमजोर रहँदा यस वर्ष अलनिनो प्रभाव सक्रिय देखिएको छ । यसका कारण मनसुनी वर्षा घट्ने, लामो सुख्खापछि अचानक भारी वर्षा हुने तथा मौसम अनुमानसमेत प्रभावित हुने अवस्था बढेको उनले बताए । मनसुन सकिने बेलातिर पुनः भारी वर्षा भई बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने चेतावनी पनि उनले दिएका छन् ।
विज्ञहरूले गर्मी र खडेरीका कारण बर्खेधानलगायत खाद्यान्न बालीको उत्पादन घट्न सक्ने तथा भूमिगत जल सञ्चितिमा असर पर्न सक्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभागले सम्भावित खडेरी, अत्यधिक गर्मी र बेमौसमी वर्षाबाट हुने क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायलाई पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ ।
