काठमाडौं । मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबाट उत्पादित विद्युत्का आधारमा उक्त क्षमता निर्धारण गरिएको हो ।
मन्त्रालयले परीक्षण चरणमा रहेका आयोजना तथा वैकल्पिक ऊर्जाबाट उत्पादित विद्युत्लाई बाहेक गरेर यो क्षमता निर्धारण गरिएको जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म कूल जडित क्षमता चार हजार ५०० मेगावाटभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ ।
हाल निर्माणाधीन आयोजनाबाट करिब तीन हजार मेगावाट विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ भने निर्माणको तयारीमा रहेका आयोजनाको क्षमता पनि सोही हाराहारीमा रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म ६६ केभीभन्दा माथिका करिब सात हजार ३६० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै १४ हजार ३२३ एमभिए क्षमताका सवस्टेसन निर्माण सम्पन्न भएका छन् ।
त्यसैगरी ३३ केभी क्षमताका करिब आठ हजार २२५ सर्किट किलोमिटर प्रसारण लाइन र तीन हजार ३०८ एमभिए क्षमताका सवस्टेसन निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारको सक्रियता र नेपाल विद्युत् प्राधिकरणको विशेष अभियानका कारण देशभर विद्युत् चुहावट १२ दशमलव पाँच प्रतिशतमा सीमित भएको उल्लेख गरिएको छ । मन्त्रालयले प्राविधिक चुहावटलाई थप घटाउँदै लैजाने लक्ष्य राखिएको जनाएको छ ।
प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पुगेको छ भने राष्ट्रिय विद्युत् प्रणाली र वैकल्पिक ऊर्जामार्फत विद्युत् पहुँच प्राप्त जनसङ्ख्या ९९ प्रतिशत पुगेको मन्त्रालयको दाबी छ ।
हालसम्म विद्युत् निर्यात दुई हजार ९१८ गिगावाट घण्टा पुगेको छ भने आयात करिब ५९० गिगावाट घण्टा रहेको छ ।
सौर्य ऊर्जा उत्पादन क्षमता ६२ दशमलव सात मेगावाट पुगेको छ भने लघु तथा साना जलविद्युत् आयोजनाबाट ५५ दशमलव तीन मेगावाट विद्युत् उत्पादन भइरहेको मन्त्रालयले जनाएको छ ।
सिँचाइतर्फ हालसम्म १५ लाख ८७ हजार ९१० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । त्यसमध्ये पाँच लाख ३२ हजार ९० हेक्टर जमिनमा वर्षभरी सिँचाइ सुविधा उपलब्ध रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
