काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताएका छन् ।
आज मनमोहन स्मृति प्रतिष्ठान ले आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले समाजका अग्रज पुस्ताले जीवनभर आर्जन गरेको अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शन बन्न सक्ने बताए । उनले ज्येष्ठ नागरिकका असल अभ्यासलाई पाठ्यक्रम, संवाद तथा अन्तरक्रियामार्फत युवा पुस्तासम्म पुर्याउनुपर्ने धारणा राखे ।
राष्ट्रपति पौडेलले शारीरिक रूपमा सक्षम र इच्छुक ज्येष्ठ नागरिकलाई उनीहरूको क्षमता अनुसारका काममा संलग्न गराई उत्पादनसँग जोड्न आवश्यक रहेको उल्लेख गरे । साथै, ज्येष्ठ नागरिकसँग सम्बन्धित नीति निर्माण र सामुदायिक गतिविधिमा उनीहरूको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
उनले दीर्घकालीन सोचसहित परिपक्व नीति तथा व्यवहारिक कार्ययोजना बनाएर ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि सरकार तथा सरोकारवालाले प्रभावकारी कदम चाल्नुपर्ने बताए । स्वस्थ भोजन, सुरक्षित जीवनशैली र आवश्यक स्वास्थ्य उपचार सेवा प्राप्त गर्नु ज्येष्ठ नागरिकको मौलिक अधिकार भएको उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले सम्मेलनले पुस्तान्तरणबीच ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने साझा मञ्चका रूपमा काम गर्ने विश्वास व्यक्त गरे । जनसङ्ख्याको बदलिँदो संरचनाअनुसार पुरानो र नयाँ पुस्ताबीच समन्वय आवश्यक रहेको उनले बताए ।
सम्बोधनका क्रममा उनले नेपालका पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी को योगदानको पनि स्मरण गरे । दक्षिण एसियामै वामपन्थी राजनीतिका पहिलो निर्वाचित प्रधानमन्त्री अधिकारी सरल र सादगी नेताका रूपमा परिचित रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विसं २०५१ मा उहाँकै नेतृत्वको सरकारले मासिक वृद्धभत्ताको सुरुवात गरेको बताए ।
