काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशस्थित १५ जना अवैतनिक दूतहरू (अनररी कन्सुलर जनरल तथा कन्सुलर) लाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको सरकारले जनाएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सार्वजनिक गर्दै पदमुक्त गरिएका दूतहरू विदेशस्थित विभिन्न मुलुकमा कार्यरत रहेको जानकारी दिए ।
बैठकले आगामी वैशाख २८ गते दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ । साथै, संसद्का सबै सदस्यहरूलाई उक्त कार्यक्रममा उपस्थित हुन आह्वान गर्नसमेत राष्ट्रपतिलाई अनुरोध गरिएको छ ।
यसैगरी, बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ अनुमोदनका लागि सङ्घीय संसदसमक्ष पेश गर्न स्वीकृति दिएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (महासन्धि नं. ८१) पनि अनुमोदनका लागि संसदमा पेश गर्न स्वीकृति प्रदान गरिएको सरकारद्वारा जानकारी दिइएको छ ।
