काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् छलेर ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा वरीयता मिचेर गरिएको प्रधानन्यायाधीश नियुक्ति सिफारिसप्रति कडा आपत्ति जनाएका छन् ।
शुक्रबार जारी विज्ञप्तिमा उनले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउनु गलत भएको टिप्पणी गर्दै यसलाई लोकतान्त्रिक प्रक्रियाविपरीतको कदम भनेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत थियो । गलत कार्यलाई कदापि सही भन्न सकिन्न र भन्न हुँदैन । वरीयताले चौथोलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ती हो ।”
साम्पाङले वर्तमान सरकार सुशासन र विधिको शासनको आश्वासन दिएर सत्तामा आए पनि प्रक्रियाविपरीत निर्णय गरिरहेको भन्दै राजनीतिक तथा कानुनी स्वार्थ लुकेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
उनका अनुसार सहकारी ठगी प्रकरण तथा भदौ २३–२४ मा भएको जेनजी आन्दोलनजस्ता मुद्दामा अदालतबाट अनुकूल निर्णय ल्याउने उद्देश्यले यस्तो नियुक्ति गरिएको हुनसक्ने अनुमान पनि गरिएको छ ।
त्यस्तै, संवैधानिक परिषद्को बैठकमा एमसीसी र एसपीपीजस्ता विषय उठाएर दबाब सिर्जना गरिएको दाबी पनि विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष साम्पाङले वरीयता मिचिएको निर्णयमा आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले हस्ताक्षर गरेकोप्रति समेत असन्तुष्टि जनाउँदै त्यसलाई खेदजनक भनेका छन् ।
श्रम संस्कृति पार्टीले विधि र प्रक्रियाविपरीत हुने कुनै पनि राजनीतिक अभ्यासको सधैं विरोध गर्ने स्पष्ट पारेको छ ।
