कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अब राहदानी सेवाग्राहीको घरमै हुलाकमार्फत पु¥याउने व्यवस्था सुरु गरेको छ ।
यसका लागि प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सेवा घरदैलोमै उपलब्ध गराउने उद्देश्यसहित हुलाक सेवालाई आधुनिकीकरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार राहदानी वितरण सेवा सुरु गरिएको हुलाक निर्देशनालय सुर्खेतले जनाएको छ ।
सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको राहदानी हुलाक निर्देशनालयले बढीमा सात दिनभित्र सम्बन्धित सेवाग्राहीको घरसम्म पु¥याउनुपर्नेछ । वितरण हुन नसकेका राहदानी पुनः जिल्ला प्रशासन कार्यालयमै फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राहदानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षित ढुवानी तथा वितरण गर्नुपर्ने उल्लेख सम्झौतामा गरिएको छ ।
गृह मन्त्रालय र हुलाक सेवा विभागको परिपत्रअनुसार राहदानी घरमै पु¥याउँदा लाग्ने हुलाक शुल्क सम्बन्धित सेवाग्राहीबाट असुल गरिने जनाइएको छ ।
हुलाक निर्देशनालयले राहदानी वितरणका लागि प्रारम्भिक चरणमा १०० थान खाममा हुलाक टिकट टाँसेर जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामा बुझाउने तयारी गरेको जनाएको छ । यो व्यवस्था आजैदेखि लागू भएको छ ।
