काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बाहिरिएका छन् ।
बिहीबार बसेको पार्टीको अध्यक्ष परिषद् बैठकले डा. भट्टराईले स्वतन्त्र रूपमा रहेर समग्र वैकल्पिक तथा रूपान्तरणकारी राजनीतिलाई सहयोग गर्ने इच्छा व्यक्त गरेपछि उक्त आग्रह स्वीकार गर्दै शुभकामना दिने निर्णय गरेको हो ।
बैठकको निर्णयमा भनिएको छ, “यसअघि प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षकका रूपमा रहेका डा. बाबुराम भट्टराईले कुनै पनि सङ्गठनात्मक जिम्मेवारीमा नरही स्वतन्त्र रूपमा वैकल्पिक तथा रूपान्तरणकारी राजनीतिलाई सघाउन चाहेको जानकारी गराउनुभएकोले उहाँको वैयक्तिक छनोटलाई सम्मान गर्दै शुभकामना दिने निर्णय गरियो ।”
त्यसैगरी, अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीले पनि पार्टी सदस्यसमेत नरहने गरी सार्वजनिक धारणा व्यक्त गरेपछि उनको आगामी व्यक्तिगत तथा राजनीतिक यात्राको सफलताको कामना गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ ।
बैठकले समसामयिक राजनीतिक अवस्था तथा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै वर्तमान राज्यसत्ता मजदुर, श्रमजीवी तथा उत्पीडित समुदायको पक्षमा नरहेको निष्कर्षसमेत निकालेको छ ।
