काठमाडौं । सरकारले आगामी वैशाख २८ गते सोमबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन गराउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त कार्यक्रममा सहभागी हुन सङ्घीय संसद्का सबै सदस्यहरूलाई आह्वान गर्नसमेत राष्ट्रपतिसमक्ष अनुरोध गरिएको जानकारी दिए ।
नेपालको संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ । यसअघि पनि सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा यस्तो सम्बोधन हुँदै आएको छ ।
