काठमाडौँस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाउन लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीलाई अनुरोध गरेको छ । बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले ऐनको दफा २३ बमोजिम आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको हो ।
उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा समिति गठन हुने व्यवस्था छ । सो समितिमा सरकारको मुख्य सचिव वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव (सरकारद्वारा तोकिएको) सदस्य रहनेछन् भने चिकित्सा क्षेत्रका प्राध्यापकहरू मध्येबाट सरकारले तोकेको एक महिला सदस्य पनि रहने प्रावधान रहेको मन्त्रालयले जनाएको छ ।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्ने अध्यादेश २०८३ लागू भएपछि चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पद रिक्त भएको हो ।
मन्त्रालयका अनुसार रिक्त पद पूर्ति प्रक्रिया पारदर्शी र कानुनी ढाँचामा अघि बढाइनेछ, जसका लागि सिफारिस समिति गठनपछि योग्य उम्मेदवारहरूको नाम छनोट गरी अन्तिम नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गरिनेछ ।
