काठमाडौं । नेपाली कांग्रेस ले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि उठ्ने प्रश्नहरूको निरूपण प्रमाण, तथ्य र विधिसम्मत प्रक्रियाबाट मात्रै हुनुपर्ने बताएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसे ले बिहीबार धारणा सार्वजनिक गर्दै सार्वजनिक पदाधिकारीमाथि उठेका विषयहरूको टुंगो सार्वजनिक हल्ला, राजनीतिक पूर्वाग्रह वा प्रचारबाजीका आधारमा गर्न नहुने बताएका हुन्।
‘सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि प्रश्न उठ्नु स्वाभाविक हो, तर त्यसको निरूपण सार्वजनिक हल्ला, राजनीतिक पूर्वाग्रह वा प्रचारबाजीबाट होइन, केवल प्रमाण, तथ्य र विधिसम्मत प्रक्रियाबाट हुनुपर्दछ,’ उनले जारी गरेको वक्तव्यमा उल्लेख छ।
कांग्रेसले राज्यका संस्थाहरू बलियो हुनु भनेको उनीहरूले आफ्नो अधिकार निष्पक्ष र विश्वसनीय ढंगले प्रयोग गर्नु भएको बताएको छ। अनुसन्धानको दायरामा आएका व्यक्तिहरूले राज्यलाई सहयोग गर्नुपर्ने तथा राज्यका निकायहरूले पनि निष्पक्षता कायम राख्नुपर्नेमा पार्टीले जोड दिएको छ।
प्रवक्ता चालिसेका अनुसार लोकतान्त्रिक मूल्य, कानुनी राज्य र संस्थागत विश्वसनीयता मजबुत बनाउन सरकारका सबै कामकारबाही चयनात्मक नभई कानुनले तोकेको प्रक्रिया अनुसार अघि बढ्न आवश्यक छ।
कांग्रेसले विधिको शासनलाई लोकतन्त्रको आधारभूत सिद्धान्तका रूपमा व्याख्या गर्दै कानुनको दृष्टिमा सबै नागरिक समान हुने र कोही पनि कानुनभन्दा माथि नहुने स्मरण गराएको छ।
वक्तव्यमा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ ले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा पूर्ण सहयोग गर्ने सार्वजनिक प्रतिबद्धता जनाएको उल्लेख गर्दै त्यसलाई लोकतान्त्रिक संस्कार र राजनीतिक परिपक्वताको उदाहरणका रूपमा लिइएको पनि बताइएको छ।
