काठमाडौं — नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । पछिल्ला दुई दिनमै सुनको भाउ प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा मात्रै आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । बुधबार प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ हजार १ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसअनुसार चाँदीको मूल्यमा प्रतितोला १ सय रुपैयाँले वृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ७ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
