जकार्ता । इन्डोनेसियाको सुमात्रा टापास्थित ट्रान्स–सुमात्रा राजमार्गमा यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा भीषण आगलागी भएको छ । दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
दक्षिण सुमात्रा प्रान्तको उत्तरी मुसी रावास क्षेत्रमा बुधबार दिउँसो भएको दुर्घटनामा करिब २० जना यात्रु बोकेको अन्तरसहर बस पूर्ण रूपमा जलेर नष्ट भएको अधिकारीहरूले बताएका छन् । बस लुबुक्लिङ्गाउबाट जाम्बीतर्फ गइरहेका बेला विपरीत दिशाबाट आएको तेल ट्याङ्करसँग ठोक्किएको थियो ।
स्थानीय विपद् व्यवस्थापन एजेन्सीका अधिकारी मुगोनोका अनुसार दुर्घटनाअघि बसमा प्राविधिक समस्या देखिएको प्रारम्भिक अनुमान गरिएको छ । बसबाट स्पार्क निस्किएपछि सम्भावित ठूलो दुर्घटनाबाट जोगिन चालकले बसलाई सडकको दायाँपट्टि मोड्ने प्रयास गरेका थिए । तर सोही समयमा तीव्र गतिमा आएको तेल ट्याङ्करसँग बस सीधै ठोक्किएको बताइएको छ ।
ठक्कर लगत्तै दुवै सवारीमा आगो फैलिएको थियो । आगलागी यति तीव्र थियो कि धेरै यात्रु बाहिर निस्किन नपाउँदै सवारीभित्रै फसेका थिए । दुर्घटनामा बस चालकसहित १३ जना यात्रु तथा ट्याङ्करका चालक र सहचालकको मृत्यु भएको जनाइएको छ ।
अधिकांश शव जलेको अवस्थामा फेला परेकाले पहिचान गर्न कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् । घाइते चार जनामध्ये तीन जनाको शरीर गम्भीर रूपमा जलेको छ भने एक जनालाई सामान्य चोट लागेको छ । उनीहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको छ ।
उद्धार टोली, ट्राफिक प्रहरी र विपद् व्यवस्थापनकर्मीहरूले घटनास्थलमा लामो समयसम्म उद्धार तथा आगो नियन्त्रणको प्रयास गरेका थिए । राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले सार्वजनिक गरेका तस्वीरमा राजमार्गभरि बाक्लो कालो धुवाँ फैलिएको र बस तथा ट्याङ्करका जलेका भग्नावशेष सडकभरि छरिएको देखिएको छ ।
दुर्घटनापछि ट्रान्स–सुमात्रा राजमार्गमा लामो समय यातायात अवरुद्ध भएको थियो । अधिकारीहरूले वास्तविक यात्रु सङ्ख्या र मृतकको अन्तिम विवरण सङ्कलन भइरहेको बताएका छन् ।
इन्डोनेसियामा कमजोर सडक पूर्वाधार, अपर्याप्त सुरक्षा मापदण्ड र तीव्र गतिका कारण सडक दुर्घटना बारम्बार हुने गरेका छन् । गत साता मात्रै जकार्ताबाहिर रेल दुर्घटनामा कम्तीमा १५ महिलाको मृत्यु भएको थियो ।
