काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल ले भारतको केरला राज्यमा वामपन्थी शक्तिले भोगेको हारलाई नेपालको वाम आन्दोलनसँग जोडेर विश्लेषण गर्नु गलत भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले केरला राज्यमा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुने परम्परा रहेको उल्लेख गर्दै त्यहाँको चुनावी परिणामलाई नेपालको वर्तमान राजनीतिक अवस्थासँग तुलना गर्न नहुने बताएका हुन्।
पोखरेलले अघिल्लो निर्वाचनमा मात्रै केरलामा वाम गठबन्धन पुनः सत्तामा फर्किएको स्मरण गराउँदै नेपालको वाम आन्दोलनको भविष्य कुनै एक चुनावी परिणामले तय नहुने जिकिर गरेका छन्। उनका अनुसार वामपन्थी शक्तिको भविष्य जनताको हित, राष्ट्रप्रतिको जिम्मेवारी, भविष्यमुखी एजेन्डा तथा जनतासँगको सम्बन्धका आधारमा निर्धारण हुन्छ।
उनले हाल देखिएको पराजयलाई केवल वामपन्थी शक्तिको हारका रूपमा नभई नेपालको समग्र लोकतान्त्रिक शक्तिहरूको कमजोरीका रूपमा व्याख्या गरेका छन्। लोकतान्त्रिक आन्दोलनलाई आधार प्रदान गर्ने राजनीतिक शक्तिहरूले अहिलेको अवस्थाको गम्भीर समीक्षा गर्दै पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताएका छन्।
पोखरेलले संकट र चुनौतीको समयमा निराशा र पलायनता होइन, संघर्ष र पुनर्गठनको बाटो रोज्नुपर्ने उल्लेख गर्दै क्रान्तिकारी शक्तिले प्रतिकूल परिस्थितिलाई अवसरमा बदल्न सक्नुपर्ने धारणा व्यक्त गरेका छन्।
