काठमाडौं । बजारमा पुराना, कुच्चिएका र टालिएका जारमा प्रशोधित पिउने पानी बिक्री वितरण गर्ने उत्पादक तथा विक्रेतालाई कारबाही गरिने भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले यस विषयमा कडा चेतावनीसहित सूचना जारी गरेको हो।
विभागले यस्ता कमसल जारको प्रयोग तत्काल बन्द गर्न निर्देशन दिँदै बजार अनुगमन कडाइ गरिएको जनाएको छ। गर्मी र वर्षायाममा झाडापखाला तथा पानीजन्य रोग फैलिने जोखिम उच्च हुने भएकाले यस्तो कदम चालिएको हो।
विभागका अनुसार बजारमा पुराना, कुच्चिएका, टालिएका, चुहिएका र अपारदर्शी जारमा पानी भरेर बिक्री भइरहेको जनगुनासो बढेको छ। यस्तो अभ्यासले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष जोखिम बढाउने चेतावनी दिइएको छ।
उत्पादक, ढुवानीकर्ता र विक्रेतालाई यस्ता कार्य नगर्न/नगराउन सचेत गराउँदै विभागले नियम उल्लङ्घन भए कडा कारबाही गर्ने जनाएको छ।
सूचनामा भनिएको छ कि नयाँ लागू भएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।
त्यस्तै खाद्य नियमावली २०२७ र प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ को पूर्ण पालना अनिवार्य गरिएको छ।
विभागले दूषित पानीको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले पानीको स्वच्छता र गुणस्तर कायम राख्न सबै सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरेको छ।

