काठमाडौं । नेपाली कांग्रेस भित्र देखिएको आन्तरिक विवाद अझै टुंगो नलागिरहेका बेला शीर्ष नेताहरूबीच बुधबार छलफल भएको छ।
सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई गल्फुटारस्थित उनको निवासमा पुगेर भेटवार्ता गरेका हुन्। उनीहरूबीच करिब साढे एक घण्टा छलफल भएको बताइएको छ।
छलफलको विस्तृत विषय सार्वजनिक नगरिए पनि पार्टीभित्रको नेतृत्व व्यवस्थापन र आगामी महाधिवेशनको विषयमा केन्द्रित भएको बुझिएको छ। सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि देउवा पक्षलाई समेत समेटेर अघि बढ्ने प्रयास भइरहेको छ।
पार्टीभित्र भने महाधिवेशनको समयलाई लिएर फरक मत देखिएको छ। खड्का पक्षले यसै वैशाखमै १५औँ महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ भने गगन–विश्व पक्षले आगामी भदौ वा असोजतिर महाधिवेशन गर्ने तयारी गरिरहेको छ।
यसबीच, खड्कासँगको भेटपछि नेताहरूले सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा पनि सहभागिता जनाएका छन्। उक्त बैठकले पार्टीको आगामी रणनीति र आन्तरिक विषयमा केही निर्णय गर्ने अपेक्षा गरिएको छ।
पार्टीभित्रको यो छलफललाई नेतृत्व व्यवस्थापन र संगठनात्मक एकता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।
