काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ कार्यकारिणी चयन भएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा पदोन्नति भएका छन्।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार श्रेष्ठको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो। ६०औं वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियापछि मंगलबार सम्पन्न मतदानको मतगणना बुधबार दिउँसो सकिएको हो।
निर्वाचन परिणामअनुसार जिल्ला तथा नगरतर्फका दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन्। शर्माले ८७ मत प्राप्त गर्दा श्रेष्ठले ८० मत ल्याएर सफलता हासिल गरेका हुन्।
त्यसैगरी, वस्तुगत संघतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन्। उनले ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई पराजित गरेका हुन्।
एसोसिएटतर्फको उपाध्यक्ष पदमा प्रबलजंग पाण्डे विजयी भएका छन्। उनले मेरिगोल्ड ज्वेलर्सकी ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै उक्त पद सुरक्षित गरेका हुन्।
नयाँ नेतृत्वसँगै महासंघले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आर्थिक गतिविधि सुदृढ गर्ने, उद्योग–व्यापारमैत्री वातावरण निर्माण गर्ने तथा नीतिगत संवादलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
