पशुपतिनगर (इलाम), वैशाख २३ गते । इलामको सूर्योदय नगरपालिका–७, कन्याममा निर्माण भएको चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनमा आउने भएको छ। नेपालमै पहिलो पटक स्थापना गरिएको यस केन्द्रलाई सञ्चालनमा ल्याउन सम्बन्धित निकायहरूबीच सहमति भएको हो।
केन्द्र सञ्चालनका लागि कोशी प्रदेश योजना आयोग, उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश र सूर्योदय नगरपालिकाबीच समझदारी भएपछि लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेको छ।
करिब १८ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको उक्त केन्द्रमा कोशी प्रदेश सरकारको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत लगानी रहेको छ। निर्माण सम्पन्न भए पनि प्राविधिक जनशक्ति अभावका कारण केन्द्र सञ्चालनमा आउन सकेको थिएन।
अब प्रदेश सरकारअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक प्राविधिक जनशक्ति र उपकरण उपलब्ध गराउने भएपछि केन्द्र सञ्चालनमा आउने सुनिश्चित भएको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिएका छन्।
केन्द्र सञ्चालनका लागि प्रदेश योजना आयोग, मन्त्रालय, नगरपालिका तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) बीच समन्वय गर्ने सहमति भएको छ। यसअघि नै केन्द्रमा रहेको चिया परीक्षण ल्याबलाई प्रभावकारी बनाउने उद्देश्यले नाष्टसँग सम्झौता गरिएको थियो।
यस परियोजनाअन्तर्गत चिया परीक्षण बाहेक क्याफे, सेमिनार हल, अतिथि गृह र प्रशासनिक कक्षहरू पनि सञ्चालनमा ल्याइने छन्। ती संरचनाहरू एकमुष्ट रूपमा निजी क्षेत्रलाई भाडामा दिइएको छ।
इलाम जिल्ला, विशेषगरी सूर्योदय क्षेत्र, देशकै प्रमुख अर्थोडक्स चिया उत्पादन केन्द्र मानिन्छ। वार्षिक रूपमा करिब ७५ लाख किलोग्राम चिया उत्पादन हुने र १५ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने यस क्षेत्रमा परीक्षण केन्द्र सञ्चालनमा आएपछि चिया उद्योगीलाई सहजता हुने अपेक्षा गरिएको छ।
