रोशी खोलामा आएको बाढीका कारण तीन दिनदेखि अवरुद्ध रहेको बीपी राजमार्ग आज पनि सञ्चालनमा नआउने भएको छ। बाढीले रोशी खोला आसपासका विभिन्न स्थानमा बनाइएका डाइभर्सन बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार सडक मर्मत कार्य तीव्र रूपमा भइरहेको भए पनि तत्काल सञ्चालनमा ल्याउन समय लाग्नेछ। बगाएका डाइभर्सन पुनः निर्माण गर्ने काम जारी छ र धेरै स्थानमा क्षति पुगेकाले मर्मत अझै बाँकी रहेको प्रहरीले जनाएको छ।
आज पनि मर्मत कार्य निरन्तर जारी रहनेछ। थप वर्षा नभए भोलिदेखि खुर्कोट–भकुण्डेबेँसी सडक खण्ड सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
निरन्तर वर्षाका कारण जोखिम बढेपछि मंगलबारदेखि उक्त सडक खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको थियो। प्रहरीले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न र यात्रा अघि मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
