काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ले बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेशअनुसार परिमार्जन गरी खरिदसम्बन्धी काम कारबाही अघि बढाउन आग्रह गरेको छ।
बुधबार जारी गरिएको सूचनामार्फत कार्यालयले सबै सार्वजनिक निकायहरूलाई नयाँ व्यवस्था अनुरूप प्रक्रिया मिलाउन निर्देशन दिएको हो।
कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्न बनेको अध्यादेश लागू भइसकेको उल्लेख गर्दै सोअनुसार काम गर्नुपर्ने बताएको छ।
हाल नमुना बोलपत्रसम्बन्धी कागजातहरू तयार पार्ने काम भइरहेको पनि कार्यालयले जनाएको छ।
ती कागजातहरू पूर्ण रूपमा तयार नभएसम्म विद्यमान कागजातलाई अध्यादेशअनुसार परिमार्जन गरी प्रयोग गर्नुपर्ने कार्यालयको भनाइ छ।
यस निर्देशनले सार्वजनिक खरिद प्रक्रियालाई एकरूप, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

