काठमाडौं, वैशाख २३ गते । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने उद्देश्यसहित संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ।
प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाहको निर्देशनमा परिषद् सचिवालयले बिहीबारका लागि बैठक बोलाएको हो। सचिवालयद्वारा बुधबार जारी सूचनाअनुसार बैठक २०८३ वैशाख २४ गते अपराह्न ५ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।
बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको जनाइएको छ।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारीलाई सहभागी हुन आमन्त्रण गरिएको छ।
प्रधानन्यायाधीश पद रिक्त रहेकाले नयाँ नियुक्तिका लागि संवैधानिक परिषद्को सिफारिस आवश्यक पर्ने संवैधानिक व्यवस्था रहेको छ।
