काठमाडौं । मोरङ जिल्लामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरस्थित सडकमा प्र.१-०१-००१ ख ४३०३ नम्बरको ट्रक र को.१० प ८१२८ नम्बरको मोटरसाइकल ठोक्किँदा मंगलबार दिउँसो दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक धनकुटा छथर जोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिष बुढाथोकी गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई कोशी अस्पताल विराटनगर पुर्याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् र उनीहरूलाई थप उपचारका लागि नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा पठाइएको छ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
